८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

हाम्रो सहयात्राले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्छ : सांसद पौडेल



काठमाडौं । नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्ने बताए। उनले यो गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र कुनै अवसरको निम्ति पनि नगरिएको स्पष्ट पारे।

उनले जनता र राष्ट्रका समस्यालाई केन्द्रमा राखेर समाधान गर्ने उद्देश्यसहित सहयात्रा प्रारम्भ भएको बताए। उनले विगतका अनुभवबाट शिक्षा लिएर सहयात्रा आरम्भ भएको भन्दै कुनै दुर्घटना नहुने बताए। उनले गठबन्धनले सहयात्राको औचित्य स्थापित हुने विश्वास व्यक्त गरे
उनले भने, ‘‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन। इतिहास स्प्रिङजस्तो घुम्छ। म भन्न चाहान्छु कि, यो सहयात्राले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्नेछ। यो कुनै स्वार्थको लेनदेनमा आधारित सहयात्रा होइन। कुनै अवसरको निम्ति गरिएको सहयात्रा होइन। जनताका, राष्ट्रका समस्यालाई केन्द्रमा राखेर तिनलाई समाधान गर्ने उद्देश्यद्वारा आरम्भ भएको सहयात्रा हो। यो फेरि विगतका अनुभवबाट यथेष्ट शिक्षा लिएर आरम्भ गरिएको सहयात्रा हो। यो कुनै दुर्घटनामा पर्छ कि भनेर त्यस खालको आशंका नगरे हुन्छ। दुर्घटनामा परोस् भनेर अपेक्षा नगरे हुन्छ।’’

सांसद पौडेलले गठबन्धन परिवर्तन हुनुलाई स्वभाविक संसदीय अभ्यासको रुपमा लिनुपर्ने बताए। उनले यो प्रक्रिया स्वभाविक संसदीय अभ्यास र परम्परा रहेको बताउनुभयो। उहाँले संवैधानिक प्रबन्ध अनुरुप नै कदम चालिएको भन्दै सोही अनुरुप बुझ्न आग्रह गरे।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ३ : १३ बजे