१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

संसद बैठकमा ६ वटा विधेयकहरू प्रस्ताव



काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न ६ वटा विधेयकहरू प्रस्तुत भएका छन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३ प्रस्तुत गरे।
यस्तै महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८३ सभामा प्रस्तुत गरे ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक २०८३ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक २०८३ प्रस्तुत गरे ।

यसैगरी मन्त्री मेहताले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३ र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०८३ सभामा प्रस्तुत गरेका हुन् ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनका लागि यही असोज १४ गते दिउसो २ बजेको समय तोकिएको जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ३ : १२ बजे