१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना छ,पदयात्रा नगर्नू- प्राधिकरण



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका तीन दिन सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखि शनिबार ९कात्तिक (१२–१४)सम्म हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ ।

“यही कात्तिक १२, १३, १४ गते हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना छ,” प्राधिकरणले बिहीबार दिउँसो जारी गरेको ‘जरुरी सूचना’मा भनिएको छ, “त्यसैले देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्नुहोला ।”

ट्रेकिङमा गइसकेको अवस्थामा सुरक्षित ठाउँमा बस्न सुझाव दिइएको छ । यी तीन दिन धान नकाट्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

“ट्रेकिङमा जानुभएको छ भने सुरक्षित ठाउँमा बस्नुहोला,” प्राधिकरणले भनेको छ, “साथै, यो तीन दिन धान नकाट्नुहुन अनुरोध छ ।”

प्रकाशित मिति : १३ कार्तिक २०८३, बिहिबार  २ : २१ बजे