१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत्



चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । 

यसअघि कात्तिक ६ मा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई ६ दिनपछि नै परिमार्जन गरेको हो । बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका अध्यक्ष विनोद पोखरेलले बताए । 

नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) २०० रुपैयाँ बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी १०० रुपैयाँ वृद्धि भएको छ ।

अध्यक्ष पोखरेलका अनुसार, कात्तिक ६ मा तीन हजार ७०० रुपैयाँ रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब तीन हजार ९०० रुपैयाँ पुगेको छ । 

१३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य तीन हजार ६०० रुपैयाँबाट बढेर तीन हजार ८०० रुपैयाँ पुगेको छ । १२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य तीन हजार ५०० बाट बढेर तीन हजार ७०० रुपैयाँ पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए । ११ किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने तीन हजार १०० बाट बढेर तीन हजार २०० रुपैयाँ पुगेको छ ।

उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम दुईवटाको ४५ रुपैयाँ कायम गरिएको छ । फार्म मूल्य प्रतिपेटी २०० रुपैयाँ बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए । पर्वहरूसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बताए । रासस

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार  २ : २३ बजे