रुकुम पश्चिम । डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
कात्तिक १७ गते बिहान करिब १०स्३० बजे चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच जनाको टोलीले आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । खोली बगरबाट राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछ तथा पहिचानका क्रममा दुवै जना डोल्पा कारागारबाट फरार कैदी रहेको खुलेपछि प्रहरी चौकी गोतामकोटमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी रहेको प्रहरीले जनाएको छ ।





