१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

कांग्रेसलाई विवादमा जोडेर भ्रम फैलाउन खोजियो : महामन्त्री पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सेटिङ र लेनदेन भएको भन्ने आरोपको खण्डन गर्दै कांग्रेसलाई विवादमा जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभएको छ ।
उहाँले सरकार, प्रहरी र न्यायालयसँग सम्बन्धित विषयमा प्रश्न उठाउँदा कांग्रेसलाई नै जबर्जस्ती जोड्ने प्रयास गलत र भ्रामक भएको उल्लेख गर्दै सार्वजनिक भएका विवादित प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री पौडेलले कांग्रेस लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउँदै कसैको मनोमानी र स्वेच्छाचारितालाई संस्थागत हुन नदिने स्पष्ट पार्नुभयो । व्यक्ति प्रधान नभई विधि प्रधान शासन व्यवस्था हुनुपर्ने कांग्रेसको मान्यता रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “ती आएका विषय सबै सत्य हुन् भन्ने हाम्रो भनाइ होइन, तर ती सत्य हुन् या होइनन् भनेर छानबिन त गर्नुपर्‍यो नि । गहिराइमा पुगेर छानबिन गर्नुपर्‍यो ।”
सरकारसँग सम्बन्धित विषयमा प्रश्न उठाउने र छानबिनको माग गर्ने जिम्मेवारी प्रतिपक्षको भएको उल्लेख गर्दै उहाँले कांग्रेस सरकार ढाल्ने वा निर्वाचित सरकारलाई असहयोग गर्ने पक्षमा नरहेको बताउनुभयो । सरकारले राम्रा काम गरे समर्थन गर्ने र गलत काम भए प्रश्न उठाउने कांग्रेसको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो ।
“हामी कुनै सरकार ढाल्न लागिरहेका छैनौँ, निर्वाचित सरकारलाई असहयोग गर्न लागिरहेका छैनौँ, सरकार पाँच वर्ष चलोस्, सरकारले राम्रा काम गर्‍यो भने हामी त्यसलाई समर्थन गर्छौँ,” उहाँले भन्नुभयो ।
महामन्त्री पौडेलले सरकार बिचौलियासँग जोडिएको वा अन्य अनियमिततासम्बन्धी प्रश्न उठेका अवस्थामा त्यसको छानबिन माग गर्न प्रतिपक्षलाई रोक्न नमिल्ने धारणा राख्नुभयो । विगतमा उठेका र अहिले सार्वजनिक भएका सबै प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले पत्रकारलाई दिनदहाडै हिरासतमा लिने, सञ्चारगृहमा प्रवेश गरेर खानतलासी गर्ने तथा आक्रमण गर्ने कार्य गलत र गैरकानुनी भएको टिप्पणी गर्नुभयो । संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताविरुद्ध हुने गतिविधिमा संलग्नलाई कारबाही गर्नुपर्ने मागसमेत उहाँले गर्नुभयो ।
“अदालतसँग जोडिएर विषय आयो, प्रहरीसँग जोडिएर विषय आयो, सरकारसँग जोडिएर विषय आयो । आएका विषयमा हामीले प्रश्न गर्न नमिल्ने ? छानबिन गर्नुस् भनेर भन्न नमिल्ने रु अनि हामीतिरै जबर्जस्ती जोडाइदिने रु ती अत्यन्त गलत र भ्रामक कुरा हुन्,” उहाँले भन्नुभयो ।
कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले कपोकल्पित आरोप लगाएर भ्रम फैलाउन खोजिएको भन्दै उहाँले यस्ता प्रचारबाट पार्टी नडराउने बताउनुभयो । लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रतामाथि प्रहार हुँदा कांग्रेसले प्रश्न उठाइरहने उहाँको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, मंगलबार  २ : ०२ बजे