काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रीय का सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी ३९ मत प्राप्त गरी विजयी भए ।
बैठकमा दाहालको पक्षमा मत विभाजन हुँदा उनको पक्षमा जम्मा ३९ मत र विपक्षमा १७ मत परेको थियो । दाहालको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा ३९ र विपक्षमा १७ मत परेको हो ।
राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा प्रस्तुत गरिएका दुई उम्मेदवारको प्रस्तावलाई निर्णयार्थ पेश गरिँदा अध्यक्ष पदमा दाहाल निर्वाचित भए ।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा ९एकीकृत समाजवादी० का बेदुराम भुसाल छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गरे। बैठकमा युवराज शर्माको पक्षमा मत विभाजन हुँदा उनको पक्षमा जम्मा १७ मत र विपक्षमा ४९ मत परेको थियो । शर्माको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा १७ र विपक्षमा ३९ मत परेको हो । राष्ट्रिय सभामा नेपाली कांग्रेसको १६ मत रहेको छ ।
यसअघि सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका थिए ।
प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा९एमाले०का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरेका थिए । राष्ट्रिय सभाको अर्को बैठक फागुन ३० गते बस्नेछ ।





