काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु र्याउने चेतावनी दिएका छन् । शनिबार भक्तपुरमा आयोजित क्षेत्रीय सम्मेलनको सहभागी हुँदै उनले
प्रधानमन्त्रीले राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे । उनले कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको बताए । आफूहरूले नचाहेको दिन प्रचण्ड प्रधानमन्त्री रहिरहन नसक्ने उनको भनाइ छ ।
“प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि, प्रचण्डले राम्रो काम गर्न सक्नु भएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने,” उनले भने, “बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ ।”
त्यस्तै महामन्त्री थापाले पार्टीको आन्तरिक बिषयमा बोल्दै सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने पनि बताए।
आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने र सो प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरे। राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने थापाले बताए।
‘सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ। छलफल हुन्छ, हुन्छ सभापतिले कोटको खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ। टाउको गन्ने हो। यति जना मान्छे छ, सभापतिज्युले भनेपछि धन्यवाद भने भइहाल्छ,’ उनले भने।
उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे । बालकुमारीमा शुक्रबार भएको घटनाप्रति उनले दुःख व्यक्त गरे ।