काठमाडौं । सङ्घीय संसद्ले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमष्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सो बडापत्र अनुमोदन गरियोस् भनी उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । यसअघि सो बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय हितलाई अनुकूल हुनेगरी बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।
यता परराष्ट्रमन्त्री श्रेष्ठले पनि बिमस्टेकलाई सार्कको प्रतिस्थापनको संस्थाको रूपमा नेपालमा नलिएको स्पष्ट पार्नुहुँदै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका थिए। प्रतिनिधि सभाको अर्को बैठक चैत्र २१ गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ ।





