काठमाडौं । उपनिर्वाचनअन्तर्गत देशका दुई क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । शनिबार सम्पन्न उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा सदस्यतर्फ बझाङ–१ ‘क’मा मतदान भएको हो ।
इलाम–२ मा करिब ५९। १२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
“।।।मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
बझाङको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको आयोगले जनाएको छ । “मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले मिति २०८१र१र१६ गते बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ,” विज्ञप्तिमा भनिएको छ ।
मतपेटिका गणनास्थलमा ल्याइसकेपछि मतगणना कार्य अघि बढाइने आयोगले जनाएको छ ।





