८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

भारतीय दुतावासले २० करोडका योजना दिने सम्झौतमा पूर्वप्रधानमन्त्री खनालको प्रश्नै प्रश्न,सम्झौता खारेज नभए आन्दोलन गर्ने चेतावनी (बिज्ञप्तिसहित)



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालस्थित भारतीय राजदूतावासबाट २० करोडका योजनाहरू दिने सम्झौतामा प्रश्न गरेका छन् । खनालले बिज्ञप्तिमार्फत आपत्ति जनाउदै नेपाल र भारतबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’का नाममा आश्चर्यजनक सम्झौता भएको बताएका छन् ।

सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष् निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता भएको उनको भनाइ छ ।

“गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीलाई स्तब्ध, आश्चर्यचकित र क्रुद्ध बनाएको छ । विगत पञ्चायतकालदेखि नै हाम्रो गौरवमय मातृभूमिको स्वतन्त्रता र सार्वभौमसत्तालाई सीमित बनाउने षड्यन्त्रहरू हुँदै आएका थिए,” विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “प्रचण्ड प्रधानमन्त्री भएका बेलामा त्यस्ता कुरा सच्चाइने छन् भन्ने आश जनताले गरेका थिए । तर उहाँकै नेतृत्वको गठबन्धन सरकारले एउटा विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागु गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ ।”

देश र जनताको विकासका निम्ति कहाँ कस्तो र कत्रो बजेट दिनुपर्छ त्यो पूर्ण रूपले नेपालको आन्तरिक अधिकारको कुरा भएको उनले टिप्पणी गरेका छन्।

उक्त सम्झौता तुरुन्त रद्द नगरिए नेपाली जनता सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने उनको चेतावनी छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ११ : ५२ बजे