काठमाडौँ । चुरे संरक्षणका लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौँ आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौँ आइपुगेको हो ।
टोलीले काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौँ आइपुगेको हो ।
चुरे तथा वनजङ्गल विनाशको कारणले तराई, मधेशमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिङ्गो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरु गरिएको जनाइएको छ ।
पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन् तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरु अघि सारेका छन् । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने आफूहरुको माग रहेको बताए ।
संयोजक यादवले खुला चरिचरण बन्द गर्नुपर्ने पनि माग रहेको जानकारी दिए । त्यस्तै भूमिहिनको नाममा मासिएको वनजङ्गलको जग्गा वनमै फर्काउनुपर्ने र वास्तविक दलित, भूमिहिन तथा सुकुम्वासीहरुलाई भूमीको व्यवस्था गर्नुपर्ने पनि बताइएको छ ।
त्यस्तै चुरे क्षेत्रभित्रका नदीनालाबाट हुने अवैध निकासी तथा ढुङ्गा, गिटी, बालुवा र क्रसर उद्योगहरुलाई तत्काल बन्द गरी यस्ता कार्यमा संलग्नहरुलाई कारबाही गर्न पनि माग गरिएको छ ।
धर्नामा रहेकाहरुले आफूहरु तेस्रो पटक चुरे संरक्षणको माग गर्दै पदयात्रामा आएको बताउँदै अब पनि माग पूरा गर्न सरकार गम्भीर नबने संघर्षको कार्यक्रम जारी राख्ने बताएका छन् ।