काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन माग गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको छ ।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो ।
अघिल्लो पेसी गत बुधबार न्यायाधीशद्वय डा। मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा परेको थियो । तर, पेसी चढिसकेपछि न्यायाधीश शर्माका पूर्व ल फर्म पार्टनर रमेश बडालले वकालतनामा चढाएपछि मुद्दा हेर्न नमिल्नेमा परेर रोकिएको थियो ।
रिटमा सहकारी संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको दाबी गरिएको छ । उनले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका छन् ।