काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बीच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सहमतीपत्रअनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरूलाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ ।
भूमि तथा प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरणमैत्री आवासीय घरहरू खरिद गर्न चाहने ग्राहकलाई तीन कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने परियोजनाको बैंकिङ साझेदारीको रूपमा समेत रहनेछ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका तर्फबाट सञ्चालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका हुन् ।
बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा सात वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउनेछ । सोपश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुने जनाइएको छ ।
इको–फ्रेन्डली घर÷भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्न यो कर्जा लिन सकिनेछ । वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।