८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उदघाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए । उनले भन, “मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।”

महिलाको स्तन क्यान्सर भए÷नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरुको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताए । उनले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा।डा।भूपेन्द्रकुमार बस्नेतले ‘थ्रिडी टेक्नोलोजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिए। उनले सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिकसत्रदेखि एमबिबिएस पढाई हुने व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ५ : ०५ बजे