११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

माघेसंक्रान्तीमा काठमाडौंबासीलाई मेलम्चीको पानी उपहार, चौथो पटक प्रधानमन्त्रीले वितरण सुरू गर्ने



काठमाडौँ, पुस २९ गते । मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउन लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (माघ १ मा) सिंहदरबारमा आयोजना हुने कार्यक्रमबिच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेपछि पानी उपत्यकावासीको धारामा पुग्ने छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले प्रधानमन्त्री ‘प्रचण्ड’ बाट शुभारम्भसँगै पानी उपत्यकावासीको धारामा पुग्ने जानकारी दिए ।

उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवक्र्समा पानी पथान्तरण गरिएको छ । पानी सुन्दरीजल आइसकेको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौँमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने छ ।

२८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच पुस ३ गते राति समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही समझदारी अनुसार माघ १ गतेदेखि पुनः पानी वितरण हुन लागेको हो ।

पाँच करोड लिटर वितरण हुने

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रवक्ता प्रक्राशकुमार राईले पानी पुनः वितरण शुभारम्भ भएको दिन केयुकेएललाई पाँच करोड लिटर पानी प्राप्त हुने बताउँदै पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने जानकारी दिए । पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाउँदै क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ ।

पटक पटक उद्घाटन

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण सो आयोजना पटक पटक बन्द हुँदै आएको छ तर त्यसले निरन्तरता पाउन सकेन । अहिले पनि अस्थायी रूपमा नै मेलम्चीको पानी वितरण गर्न लागिएको हो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते भृकुटीमण्डपमा काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेका थिए भने त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए । २०७९ मङ्सिर २३ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँको महाँकाल वितरण केन्द्रबाट पुनः पानी वितरणको शुभारम्भ गर्नुभएको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ चौथो पटक पानी पुनः वितरणको शुभारभ्भ गर्ने कार्यक्रम छ ।

विसं २०७७ चैत १५ गते पहिलो पटक मेलम्चीको पानी उपत्यकामा वितरण गर्न सकिएको थियो तर त्यसपछि २०७८ असार १ र साउन १५ मा मेलम्ची खोलामा आएकोे भीषण बाढीपहिरोले आयोजनाको मुहान र हेडवक्र्समा ठुलो क्षति पु(याएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : १२ बजे