४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

चाडपर्व सुरु भएसँगै बजार भाउ अस्वाभाविक रुपमा बढ्न थाल्यो



काठमाडौँ । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् ।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रूपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवं अग्रिम आयकर कट्टीबापत १० प्रतिशतको राजस्व उठाउने गरेकाले पछिल्लो महिना चिनी, दलहन र चामलको भाउ बढेको हो । नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा चामल प्रतिबोरा दुई सय रुपियाँ बढेर आएको सङ्घले जनाएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो दुई महिनाको बिचमा मोटा चामल प्रतिबोरा तीन सय रुपियाँसम्म, दलहन प्रतिकेजी ९० रुपियाँसम्म र चिनी प्रतिकेजी २० रुपियाँ महँगो भएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  १२ : ५५ बजे