८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

को बन्दैछन् आईपीएलमा सर्वाधिक महङ्गो ?



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) आउँदो मार्चमा सुरु हुदैछ । यसको लागी आईपीएलको अक्सन मंगलबार दुबईमा दिउँसो साढे २ बजेबाट सुरु हुदैछ ।

यसपटक ३ सय ३३ खेलाडीको बोली लाग्ने छ, जसमध्ये बढीमा ७७ खेलाडी मात्रै किन्न पाइनेछ भने ३० स्लट विदेशी खेलाडीका लागि छन् ।

१० टोलीको लिलामीमा २६२ दशमलव ९५ करोड रुपैयाँ बाँकी छ । तीमध्ये गुजरात, हैदरावाद, कोलकाता र चेन्नई ३० करोड रुपैयाँभन्दा बढीको लिलामीमा प्रवेश गर्नेछन्।

यी मध्ये कुनै एक टोलीमा आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी पनि पर्न सक्नेछन्, जसको मूल्य २० करोड नाघ्न सक्ने अनुमान छ ।

इंग्ल्याण्डका साम करन आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन् । उनलाई गत सिजनमा पञ्जाब किंग्सले १८ दशमलव ५० करोडमा किनेको थियो । यो वर्ष उनको कीर्तिमान तोडिन सक्छ । किनकी विश्वकप पछि धेरै खेलाडी दावेदार देखिएका छन्।

न्यूजिल्याण्डका बायाँ हाते ब्याटिङ अलराउन्डर रचिन रविन्द्र र एकदिवसीय विश्वकपको फाइनलमा १३७ रन बनाएर भारतबाट ट्रफी खोसेका अष्ट्रेलियाका ओपनर ट्राभिस हेड मुख्य दावेदार देखिएका छन्।

इंग्ल्याण्डका मिडल अर्डर ब्याट्सम्यान ह्यारी ब्रुक, जो अन्तर्राष्ट्रिय टि(ट्वान्टीमा प्रत्येक छैटौं बलमा बाउन्ड्री प्रहार गर्छन्। उनले २५ टी–२० खेलमा १४१ दशमलव ०२ को स्ट्राइक रेटमा ४९५ रन बनाएका छन् । उनलाई पनि ठुलो बोलि लाग्न सक्दछ।

यस्तै, भारतीय फास्ट बलर शार्दुल ठाकुरसँग महत्वपूर्ण समयमा विकेट लिन सक्ने क्षमता छ । उनले तल्लो क्रममा ठूला शटहरू प्रहार गर्न सक्छन्। शार्दुलले भारतका लागि २५ टी–२० खेलमा ३३ विकेट लिएका छन् । उनलाई हरेक टोली आफ्नो टिममा चाहनेछन्।

आफ्नो कप्तानीमा अस्ट्रेलियाबाट एकदिवसीय र टी–२० विश्वकपसँगै एसेज र विश्व टेस्ट च्याम्पियनसिप जितेका प्याट कमिन्स पनि अक्सनमा हुनेछन् ।

श्रीलंकाका स्पिन बलिङ अलराउन्डर वानिन्दु हसरङ्गा टी–२० वरीयतामा तेस्रो नम्बरमा रहेका छन् । उनी आफ्नो विश्वस्तरीय लेग स्पिनको आधारमा कुनै पनि अन्तर्राष्ट्रिय टोलीको हिस्सा बन्न सक्छन्।

दक्षिण अफ्रिकाका २३ वर्षीय फास्ट बलर जेराल्ड कुट्जीले एकदिवसीय विश्वकपमा २० विकेट लिएका छन् । उनको गति र बाउन्स भारतीय पिचहरूमा धेरै प्रभावकारी थियो जसले आईपीएल टोलीहरूलाई पनि आकर्षित गर्न सक्छ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ०८ बजे