काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तत्काल काट्न निर्देशन दिएका छन्। उनले दुई महिनाअघि आफैंले उद्योगीसामु गरेको प्रतिबद्धताविपरीत बिहिबार एकाएक लाइन काट्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयुक्त समीक्षा बैठकमा उनले विद्युतको बक्यौता नतिर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए। बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि थिए।
ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेबापत ५८ वटा उद्योगले ब्याज र हर्जानासहित २५ अर्ब रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको प्राधिकरणको हिसाब छ। उसका अनुसार महसुल २० अर्ब तथा ब्याज र हर्जाना ५ अर्ब रुपैयाँ हो।
यो रकम उठाउनका लागि प्राधिकरणले लामो समयदेखि प्रयास गर्दै आएपनि उद्योगीले लोडसेडिङ हटेको दुई वर्षसम्म पनि महँगो रकमसहित बिलिङ गरिएको भन्दै तिर्न मानेका छैनन्। प्राधिकरणले पछिल्लोपटक भदौ तेस्रो साता सार्वजनिक सूचना नै निकालेर १५ दिनभित्र बक्यौता तिर्न भनेपछि त्यसविरुद्ध उद्योगीहरु प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएका उद्योगीलाई दाहालले लाइन काट्न नदिने प्रतिबद्धता जनाएका थिए।
लाइन नकाट्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका उद्योगी। फाइल तस्वीर
उनले उद्योगीकैसामु प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई फोन गरी उद्योगको लाइन नकाट्न र सरोकारवालाहरुसँग बसेर छलफल गरी निष्कर्ष निकाल्न निर्देशन दिएका थिए। त्यसपछि प्राधिकरणले मध्यमार्गी बाटो खोज्ने बताएको थियो।
तर प्राधिकरणले त्यस्तो प्रस्ताव ल्याएको छैन। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् महसुलको बक्यौता असुलीमा जोड दिएपछि प्रधानमन्त्री दाहालले अब कडारुपमा प्रस्तुत हुन भनेका हुन्। ‘बिजुलीको बक्यौता नतिर्नेको लाइन काट्ने क्रमलाई तिब्रता दिऔं। यसमा कसैसँग सम्झौता नगर्नुस्। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन पनि तुरुन्त काटौं। ठूलाबाट सुरू गरेर सबै बक्यौता उठाउनेतर्फ जाऔं,’ उनले भने।
बैठकमा सहभागी मुख्यसचिव डा। बैकुण्ठ अर्यालले प्रधानमन्त्रीले धेरै धैर्य गरेर बस्न नहुने र एक्सनमा उत्रिनुपर्ने बताएको जानकारी दिए।