तनहुँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले टिकट वितरणमा पूर्ण रूपमा न्याय गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको आज उद्घाटन तथा कांग्रेसको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सभापति देउवाले भन्नुभयो, “पार्टीभित्र पूर्णरुपमा न्याय हुन्छ, हिजो नपाएकाहरूले आज पाउँछ, आज नपाउनेले भोलि टिकट पाउँछ ।” बैमनश्यता त्यागेर पार्टीभित्र एकता हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
एकतालाई बलियो बनाउन पनि आगामी दिनमा टिकट वितरणमा न्याय गरिने उहाँको भनाइ छ । नेपालको संविधानले समावेशी समानुपातिक व्यवस्था गरेकाले कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने उल्लेख गर्दै सभापति देउवाले पार्टीबिचमा सहमति आवश्यक रहेको बताउनुभयो ।
देउवाले भन्नुभयो, “सहमति गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउनु पर्छ । नेपालको संविधान समावेशी, समानुपातिक व्यवस्था गरिएकाले सहमति गर्नु पर्ने बाध्यता छ ।”
समानुपातिक संवैधानिक व्यवस्थाले गर्दा बहुमत ल्याउन नसके पनि कांग्रेस ठुलो पार्टी बन्ने र मेलमिलापको माध्यमबाट अघि बढ्नु पर्ने बताउनुभयो । देउवाले भन्नुभयो, “सबैको प्रतिनिधित्व हुनेगरी आदिवासी, मधेसी, दलित, महिलाको सहभागिताको व्यवस्थाले गर्दा बहुमत ल्याउन कठिन हुन्छ, सरकार बनाउन मिल्नुको विकल्प छैन ।”
देश हाल महत्त्वपूर्ण मोडमा उभिएको र सहमति गरेर शान्ति प्रक्रियामा देश आएकाले छिटपुट घटनालाई सहमतिकै माध्यमबाट समाधान गरिने सभापति देउवाले बताउनुभयो ।कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेको बताए । देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुको विकल्प नभएको उनको भनाइ छ । कार्यक्रममा पूर्वमहामन्त्री डा। शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतले सम्बोधन गरे । कांग्रेसले भवन निर्माणका जग्गादाता तथा चन्दादातालाई सम्मान समेत गरेको छ । ८ आना क्षेत्रफलमा निर्माण भएको भवन करिव २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको कांग्रेसले जनाएको छ ।