काठमाडौं । काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।
अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । काठमाडौँको तापक्रम बिहीबार र शुक्रबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रममा स्थिर रहेकोमा शनिबार घटेर २।५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो ।
गत वर्षको तुलनामा यो वर्ष यस अङ्कमा न्यूनतम तापक्रम पुग्न २० दिन ढिलो भएको छ । गत वर्ष जनवरी ७ तारिखमा न्यूनतम तापक्रम २।५ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यो विश्लेषणले पनि गत वर्षभन्दा यस वर्षको जाडो २० दिन पछाडि धकेलिएको देखाउँछ ।
फागुन १५ सम्मको समय हिउँदयामको मानिन्छ तर यस वर्ष जाडो धकेलिएर फागुनभर पनि चिसो हुने सम्भावना बढेको छ । वर्षा भएको खण्डमा त्यो चिसो अझ पर पूर्वमनसुनको समयसम्म धकेलिन सक्ने महाशाखाले अनुमान गरेको छ ।





