८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

फराकिलो सडकमै दुर्घटना धेरै



कास्की । कास्कीमा चालु आर्थिक वर्षको छ महिनामा ५० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर २२ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७७र७८ मा भएका सवारी दुर्घटनाको सङ्ख्या ६४ थियो । उक्त दुर्घटनामा परेर ४३ जनाको ज्यान गएको र ३२ जना गम्भीर घाइते भएका थिए ।

आव २०७९र८० मा भने कास्कीमा ११७ दुर्घटना हुँदा ४४ जनाको ज्यान गएको र १२३ जना घाइते भएका थिए । प्रहरीका अनुसार कास्कीमा सवारी दुर्घटनाको सङ्ख्या वर्षैपिच्छे बढिरहेको छ । फराकिलो छ लेन सडक भए पनि सबैभन्दा बढी मानवीय क्षति हुने मार्ग अहिले जिरो किलोमिटर–विन्ध्यवासिनी रहेको प्रहरीको भनाइ छ । सोही स्थानमा छ महिनाको अवधिमा छ जनाले ज्यान गुमाइसकेका छन् ।

कास्की जिल्ला प्रहरी प्रवक्ता श्रवणकुमार विक ज्यानै जाने गरी भइरहेका दुर्घटना प्रहरीलाई पनि टाउको दुःखाइ बनेको बताउनुहुन्छ । पछिल्लो समय बजार क्षेत्र र राजमार्गमा सवारी दुर्घटना बढी हुने गरेका छन् ।

राजमार्ग क्षेत्रमै बढी दुर्घटना हुने गरेको छ । “तीव्र गति, मादक पदार्थ सेवन, साँघुरो बाटो, सडक उज्यालो नहुनुलगायत कारणले सहरभित्र बढी दुर्घटना भएका छन् । पुस दोस्रो साता पस्र्याङमा भएको दुर्घटना सडकमा बत्ती नहुँदा भएको एउटा घटना हो । किनभने पैदलमार्गमा बत्ती नभएपछि सर्वसाधारण सडकबाट हिँडेका थिए । मध्यरातको समयमा गाडी नआउने अनुमान गर्दै सडकबाट हिँडेका बेला दुर्घटना भएको थियो,” उनले भने
ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठक चालकको लापरबाही, तीव्र गति, सडकको अवस्था जस्ता कारणले दुर्घटना बढी हुने गरेको बताए ।

पोखराका केही सडक चौडा भए पनि ती सडकमा जोडिएका पुल साँघुरा छन् । पोखराको मुख्य द्वार पृथ्वीचोकमा छ लेनको सडक हुँदा दुई लेनको पुल छ । पोखरा–बागलुङ राजमार्गको जिरो किमी–हेम्जा खण्ड छ लेनको छ तर फिर्केको पुल भने दुई लेनको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १० : ०९ बजे