काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बुधबार बिहान बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँट सम्पन्न गरेको हो । वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३ सय ४० आवेदकलाई ५० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको छ । बुक बिल्डिङ विधिमा खुलेको आईपीओ भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनैपर्ने र बाँडफाँटमा पनि कम्तीमा ५० कित्ता सेयर दिनैपर्ने व्यवस्था छ । सोअनुसार ५० कित्ताका दरले बाँडफाँट गर्दा थोरै संख्याका आवेदक मात्रै सर्वोतम सिमेन्टको आईपीओ हात पार्न सफल भएका छन् ।
वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८ सय २४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३ सय ६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको थियो । पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँट भएपछि आमसर्वसाधारणका लागि आईपीओ खुल्नेछ । सर्वोतम सिमेन्ट नेपालमा बुक विल्डिङ विधिबाट आईपीओ निस्कासन गर्ने पहिलो कम्पनी हो ।