८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

राष्ट्रिय सभा निर्वाचन सिट बाँडफाँटको अन्तिम तयारीमा गठबन्धन दलहरू, एमालेलाई भाग नदिने निश्चित

कुन दलले कति सिट लिने भन्ने पनि आजै टुंगो लाग्ने



काठमाडौ ।आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरू सिट बाँडफाँटको अन्तिम तयारीमा छन्। शनिबार नै दोस्रो चरणको छलफल गरेर सिट बाँडफाँटको टुंगो लगाइने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सँग कुरा नमिलेकाले सत्ता गठबन्धनबिचमै राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउनुहुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी चार दलका नेताहरूको बिचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरूबिचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए। उनले सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए ।

उनले भने, ‘‘सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्छ । सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसाबले दाबी गर्नुभएको छ, पार्टीहरूले । साँझसम्ममा टुङ्गोमा पुग्छौँ । सत्ता गठबन्धनले सदाशयतापूर्वक एउटा वृहत् लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बिचमा मिलेरै जान सकिन्छ की भन्ने हो । तर सम्भव भएन । देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुङ्गोमा पुग्छौँ ।’’

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरूबिच सिट बाँडफाँट हुने बताए ।

सत्ता घटक कुन कुन दलले कति सिट लिने भन्ने पनि आजै टुंगो लाग्ने बुझिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ४ : ४६ बजे