काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्अर्दै र्थमन्त्री डा.महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताए ।
जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने उनको भनाइ छ । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनको भनाइ थियो । ‘‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ उनले भने, ‘‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’’
नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भूभाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्रीको भनाई थियो । यी क्षेत्रमा लगानी गरेर आफ्नो अन्य साथीलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्री डा. महतले आग्रह गरे।
उनले जलविद्युत क्षेत्रका नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरूको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने बताए । नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले ‘नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दाबी गरे ।