१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

हेटौँडा सिमेन्ट उद्योगको क्लिंकर उत्पादन बन्द



हेटौँडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिंकरको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिंकर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिंकर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ ।

कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुंगालाई गलाएर क्लिंकर बनाउने गरिन्छ । आवश्यक प्राविधिक प्रक्रियाबाट क्लिंकर तथा जिप्सनलाई मिसाएर सिमेन्ट उत्पादन गरिन्छ । त्यसकारण आजदेखि क्लिंकर उत्पादन बन्द रहेको बताइएको छ ।

उद्योगमा विगतमा उत्पादन भएको क्लिंरको मौज्दात पूर्णरूपमा रहेकाले सिमेन्टको उत्पादन भइरहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए । कोइलाको समस्या हटाउनका लागि उद्योग व्यवस्थापनले कोइला खरिदका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कोइला आपूर्ति हुनासाथ क्लिंकर उत्पादन हुने उनले बताए । अर्कातिर सो उद्योगद्वारा उत्पादित सिमेन्टको बिक्री वितरण भइरहेको जनाइएको छ । कोइलालगायत विभिन्न कारणले गत असोजदेखि सिमेन्टको उत्पादन बन्द रहेको सो उद्योग माघको पहिलो हप्ताबाट सञ्चालनमा आएका हो । अहिले क्लिंकरबाहेक सिमेन्ट उत्पादन भइरहेको छ ।

दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योगको पुरानो मेसिनरी समस्या, बजार समस्या, प्रतिस्पर्धामा कमीलगायत नयाँ प्रविधि र जनशक्तिको अभावले गर्दा उत्पादन आफ्नो क्षमताअनुसार नहुँदा उद्योग विगत चार आर्थिक वर्षदेखि घाटामा रहेको उद्योगका तथ्यांकले जनाएको छ ।

उद्योगले चालु आर्थिक वर्षको ६ महिनामा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट बिक्री गरेको छ । चालू आर्थिक वर्षको साउनमा ४८ हजार ९५५ बोरा, भदौमा ४५ हजार ५१० बोरा, असोजमा ५१ हजार ४८२ बोरा, कात्तिकमा २२ हजार ३८७ बोरा, मंसिरमा २५ हजार ३३७ बोरा तथा पुसमा ५५ हजार ७८५ बोरा सिमेन्ट उत्पादन गरेको उद्योगले जनाएको छ ।

हाल त्यहाँ प्राविधिक तथा प्रशासनिक र ज्यालादारी गरी करिब तीन सय कर्मचारी तथा कामदार कार्यरत छन् । विसं २०३३ मा एसियाली विकास बैंकको सहयोगमा उद्योग स्थापना गरिएको बताइएको छ । निजी क्षेत्रको लगानीमा हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योग तथा ऋद्धिसिद्धि सिमेन्ट उद्योग निरन्तर सञ्चालनमा रहेको ती उद्योगका प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ०५ बजे