२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

चन्द्रागिरिका चार वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा



काठमाडौं । चन्द्रागिरि नगरपालिकाका चार वडालाई ‘बाल बालश्रम मुक्त वडा’ घोषणा गरिएको छ । बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने ध्येयका साथ नगरको १५ वडामध्ये बुधबारसम्म वडा नं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ८ मातातीर्थ र वडा नं १४ नयाँ नैकापलाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

बालमैत्री नगर निर्माणमा अघि बढिरहेको नगरपालिकाले निकट भविष्यमा अन्य दुई वडालाई पनि घोषणा गर्ने तयारी गरेको जनाइएको छ । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार बालश्रम मुक्त वडा घोषणा कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

चन्द्रागिरि–५ किसिपिडिलाई बुधबार आयोजित कार्यक्रममा बालश्रम मुक्त घोषणा गरिएको छ । उक्त वडामा रहेका पाँच जना बालबालिकामध्ये चार जनालाई परिवारमा मिलान गराइएको र एक जनालाई श्रममुक्त बनाएर घोषणा गरिएको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए । सो अवसरमा नगर प्रमुख घनश्याम गिरीले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको जानकारी दिए ।

उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छ । यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने छ । अहिलेसम्म ६ स्थानीय तह बालश्रम मुक्त भइसकेको छन् ।

बालश्रम मुक्त बनाउन बाल विकास समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरिरहेको समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले जानकारी दिए। बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १० : ४३ बजे