६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

प्रतिपक्ष कांग्रेस र राप्रपाको अवरोधपछि वैशाख २ गतेसम्मका लागि संसद् स्थगित



काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले अवरोध गरेपछि स्थगन भएको छ ।

प्रतिपक्षी सांसदहरूले उक्त प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले उठेका विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनमा सघाउन आग्रह गरे ।
तर विपक्षी सांसद्ले बैठक चल्ने नदिने अडान लिएपछि सभामुख घिमिरेले आजका लागि निर्धारित कार्यसूची हटाइ बैठक स्थगन गरे
बैठकको प्रारम्भमै प्रतिपक्ष दलका सांसदहरूले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका कारण सहकारपीडितले न्याय पाउन नसकेको आरोप लगाउनुभयो भने सत्तापक्षका सांसदहरूले बिना आधार व्यक्तिकेन्द्रित भएर प्रहार नगर्न आह्वान गरे।

कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेका कारण पोखराको सूर्यदर्शन सहकारीका पीडितलाई न्याय दिन र त्यसमाथि छानबिन गर्न बाधा उत्पन्न भएकोमा आशङ्का व्यक्त गरे । “काठमाडौँबाट नेपाल प्रहरीको सिआइबीले पोखरामा छानबिनका लागि दुई जना अधिकृतलाई पठाइयो । छानबिनले अहिलेका गृहमन्त्री सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन गर्न काममा लाग्यो भन्ने हामीलाई आभास भयो”, सांसद खतिवडाले भने, “जसको बारेमा छानबिन हुँदै थियो उहाँ नै त्यसै संस्थामा गृहमन्त्री भएर आउनुभएपछि छानबिन प्रक्रिया रोकियो र सहकारीपीडित झन् पीडित हुने अवस्थामा गए भन्ने आशङ्का उत्पन्न भयो ।” दोषीलाई उम्काउने काम सरकारबाट भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेको उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको बचतकर्ताको बचत अपचलनको विषय ठगीको विषय भएको भन्दै बचतकर्ता नठगिने स्थितिको सुनिश्चितता सरकारले गर्नुपर्ने माग गरे । उहाँले सूर्यदर्शन सहकारीको विषय अदालतमा विचाराधीन भएका कारण सदनमा बहस नगर्नसमेत सुझाव दिए
“सूर्यदर्शन सहकारीसम्बन्धी यो विषय कास्की जिल्ला अदालतमा विचाराधीन छ । संविधानबमोजिम सदनमा अदालतमा विचाराधीन विषय बहसको विषय हुँदैन भन्ने कुरा थाहा छ । तर यो विषय थाहा पाएर पनि उठाइरहेका छौँ”, उनले भने, “तर समस्यामा छलफल गरेर निष्कर्षमा पुग्नका लागि होइन । प्रतिपक्षको भूमिकामा हामीले यो विषय उठाएका थियौँ ।”

सांसद माधवप्रसाद सापकोटाले संसद्को बहसलाई राजनीतिक दलका नेता एवं सांसदहरूलाई आपसमा विवाद र आरोप लगाउनमा समय खेर फाल्न नहुनेभन्दै सचेत गराए । “आज हामी जे गरिरहेका छौँ । आगामी पुस्ताले सकारात्मक रूपमा मूल्याङ्कन गर्नसक्ने गरी संसद्भित्रको अभ्यास र नजिर स्थापित गरिनुपर्छ”, उनले भने। उहाँले रचनात्मक र सिर्जनात्मक रूपमा सदनमा प्रस्तुत हुँदै सदनलाई बहसको थलो बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मानिस झाले सदनमा बिना आधार व्यक्ति केन्द्रित भएर प्रहार गर्न नहुने बताए। “सदनको नियमावलीमा सदनमा कुनै व्यक्तिप्रति पटक–पटक निराधार लाञ्छना लाउन पाइँदैन । कानुनले कुनै निर्णय दिइसकेको छैन सुरक्षा निकायले आफ्नो सूचना दिइसक्यो । देशको प्रधानमन्त्रीले सदनमा आफ्नो अभिव्यक्ति दिइसक्नुभयो”, उनले भने, “चौकीमा गएर कसैले दिएको उजुरी जुन दर्ता भएको छैन । त्यसको आधारमा पटक–पटक कुनै व्यक्तिप्रति गरिएको प्रहारप्रति हाम्रो आपत्ति छ ।” उहाँले आफूहरू सुशासनको प्रत्याभूतिको लागि प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री लामिछानेले निषेधाज्ञा जारी गर्नु अभिव्यक्तिको स्वतन्त्रतामा प्रहार गरेको आरोप लगाए । उनले मङ्गलबार राप्रपाको प्रदर्शनीमा आफ्ना कार्यकर्तामाथि गृह मन्त्रालयबाट ज्यादती भएको समेत आरोप लगाए । “हामी शान्तिपूर्ण आन्दोलनमा विश्वास राख्छौँ । तर हिजो भएको प्रदर्शनीमा हाम्रो १८ जना कार्यकर्तामाथि सुरक्षाकर्मीको प्रहारले अस्पताल भर्ना हुनुभएको छ”, उनले भने ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : ०१ बजे