३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

नयाँ गठबन्धनमा जाने नागरिक उन्मुक्ति पार्टीको निर्णय



धनगढी । नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। सो पार्टीको संसदीय दलको बुधबार धनगढीमा बसेको बैठकले नयाँ गठबन्धनमा जाने निर्णय गरेको हो।

आफ्नो पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालय लिने गरी नयाँ सत्ता समीकरणमा जाने निर्णय गरेको सो पार्टीको संसदीय दलले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि उन्मुक्ति निर्णायक रहेको छ। सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ। नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय गरेपछि बहुमतको सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ।

प्रदेश सभामा नेकपा ९माओवादी केन्द्र० का १०, नेकपा ९एमाले० का १०, नागरिक उन्मुक्ति पार्टीका छ र नेकपा ९एकीकृत समाजवादी० पार्टीका चार जना प्रदेश सभा सदस्य रहनू भएको छ। चार वटै पार्टीको मिलाएर सदस्य सङ्ख्या जम्मा ३० पुग्छ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको समेत उपस्थिति रहेको थियो। यसअघि, नागरिक उन्मुक्ति पार्टीभित्र नेपाली कांग्रेस नेतृत्वको सरकारमा रही रहने कि बाहिरिएर नयाँ गठबन्धनमा जाने भन्ने विवाद थियो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नयाँ गठबन्धनमा जाने अडान राखेका थिए । तर, संरक्षक चौधरीले भने नेपाली कांग्रेस नेतृत्वको सरकारमा रही रहने अडान लिनुभएको थियो। अब पार्टी अध्यक्षले चाहे अनुसार नागरिक उन्मुक्ति पार्टी अगाडि बढेको छ।

बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिनुभएको थियो। मुख्यमन्त्रीले राजीनामा दिएपछि संविधानमा भएको व्यवस्था बमोजिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखले आह्वान गरे अनुसार मुख्यमन्त्री नियुक्तिको समय सीमा आउँदो वैशाख २ गतेसम्म तोकिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : १६ बजे