काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१र८२ का लागि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड रुपियाँ बजेट सिलिङ तोकेको छ । आगामी आवका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट घटाउने देखिएको छ । अर्थ मन्त्रालयले तोकेको सिलिङ नै चालु आवभन्दा कम रहेको छ ।
चालु आवका लागि ५२ अर्ब ४६ करोड रुपियाँ बजेट सिलिङ तोकेको थियो । पछि त्यसलाई बढाएर ५८ अर्ब ९८ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । सिलिङ तोकेकैबाट प्रस्ट हुन्छ कि विगतभन्दा आगामी आवमा कृषिको बजेट कम हुन्छ । चालु आवमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि तीन अर्ब २२ करोड रुपियाँ विनियोजन गरिएको थियो भने उखु किसानलाई दिइने अनुदान रकमका लागि ८५ करोड रुपियाँ विनियोजन गरेको थियो । त्यस्तै कृषि तथा पशु बिमाका लागि ९५ करोड विनियोजन गरिएको थियो । यी नियमित कार्यक्रमका लागि मोटो रकम विनियोजन हुने गरेका छन् । आगामी आवमा यसलाई निरन्तरता दिइने कृषि मन्त्रालयले जनाएको छ ।