बुटवल । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ ।शुक्रबार न्यायाधीश डा। श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा आज थुनछेक बहसका क्रममा सात जना उपस्थित थिए ।न्यायाधीश डा। उप्रेतीको इजलासले उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई चार लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
त्यस्तै, नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईँसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, निता थापामगरसँग दुई लाख र रोशनी गुरुङसँग दुई लाख रुपियाँ धरौटी माग भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । अदालतमा उपस्थित नभएका प्रतिवादीहरूका नाममा भने म्याद जारी गरिएको छ ।
यस्तै, कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।
सुप्रिम सहकारीमा रकम बचत गर्ने एक हजार ८३१ जनाले आफूहरूको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब सवा एक अर्ब रुपियाँ अपचलन गरेको छ ।
सहकारी पीडितहरूले वैशाख ४ गतेदेखि निर्णायक आन्दोलन सुरु गरेका थिए । प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीवी राईसहितका प्रतिवादीलाई पक्राउ गरेर कारबाही गर्नसमेत माग गरेका छन् ।
सङ्घर्ष समितिका संयोजक विजयकुमार नेपालले आफूहरूले न्याय नपाएसम्म सङ्घर्षलाई निरन्तरता दिने बताउँदै माग पूरा नभए काठमाडौँ गएर संसद् घेराउ गर्नेसमेत चेतावनी दिए ।