१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : निधि



जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारीको बचत हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नगरिएसम्म संसद् चल्न नदिने बताएका छन् ।

नेता निधिले जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन भन्ने विषयको संसदीय छानबिनमार्फत छिनोफानो हुनुपर्ने उनको भनाइ थियो ।

“गृहमन्त्री लामिछानेले संसद्‌मा स्पष्टीकरण दिएर मात्र हुँदैन, त्यसका लागि संसदीय छानबिन समिति गठन नै एक मात्र निकास हो,” नेता निधिले भने ।

छानबिन समिति गठन गर्न सरकार तयार नभएसम्म सदन चल्न नदिने अडान दोहो¥याउँदै उनले सांसदहरूले जनसरोकारका विषय सदनमा उठाउन नपाएपछि सदनको बैठक बस्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

चितवन, भैरहवा र पोखरामा सहकारीमा भएका अनियमितताबारे प्रहरीले छानबिन समेत गरेको नेता निधिले उल्लेख गरे ।

फरक प्रसंगमा उनले मुलुकभरिका आगलागीपीडितलाई सरकारी पक्षबाट आवश्यक सहयोगका निम्ति आग्रह गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ३ : ४२ बजे