काठमाडौँ । नेपाली कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ । सहकारी अपचलनको बिषयमा सरकार संसदीय छानबिन समिति गठन गर्न तयार नदेखिएपछि कांग्रेसले सदन अवरोध जारी राख्ने बताएको हो । आज कांग्रेसका शिर्ष नेता बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवत्ता प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए ।
‘रविजी लगायत सहकारीका सबै विषयलाई समेटेर छानबिन हुनुपर्छ भन्ने माग हो । त्यसका लागि सत्तापक्ष तयार भएको छैन । छानबिनको कुरा गर्दा सहकारीको कहाँ के समस्या छ हेर्ने, त्यस्तो छानबिन गर्ने भन्ने कुरा गरेर मूल विषयलाई डाइल्युट गर्ने कुरा आएकाले सहमति हुन सकेको छैन’, डा. महतले भने ।
उनले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए । “सत्तापक्ष निर्लज्ज भएर प्रस्तुत भइरहेको छ, एउटा अमुक व्यक्तिलाई जोगाउने कुरा खुलेयाम भन्दैछ,” महतले भने, “कसैलाई जोगाउने कसैमाथि छानबिन गर्ने माग हाम्रो होइन ।
अहिले केही बेरमा प्रतिनिधि सभाको बैठक बस्दैछ ।





