१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

रवि लामिछाने विरुद्धको रिटमाथि सुनुवाइ भएन, यस्तो छ कारण



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाइ नहुने भएको छ ।

सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी परेको छ । यसअघि हिजो सो रिट न्यायाधीश पोखरेलकै इजलासमा परेको थियो ।

तर सुनुवाई भएन । न्यायाधीश हुनुअघि पोखरेल लामिछानेका कानूनी सल्लाहकार भएका कारण स्वार्थ बाझिने भएकाले सो रिटमाथि सुनुवाइ नहुने भएको हो ।

सोमबार अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट हटाउन माग गर्दै रिट दायर गरेका थिए ।

गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज लगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदिएपछि त्यसविरुद्ध परेको रिटमा गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेल विरुद्धको रिट निवेदन दर्ता भएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  २ : १० बजे