१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

गृहमन्त्री लामिछानेको सेटिङ नमान्दा कैलाश सिरोहियालाई पक्राउ गरिएको सम्भव सिरोहियाको दाबी



काठमाडौं । कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरिएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफ्नो बुबा समेत रहेका कान्तिपुरका अध्यक्ष कैलाशलाई नागरिकताको विषयमा झुटो मुद्दामा पक्राउ गरिएको बताएका छन् ।

“यसपालि रास्वपाका सभापति गृहमन्त्री रवि लामिछानेको को(अपरेटिप स्क्याम जनताको बीचमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो । यो समाचार मिलाइदिनका लागि, लुकाइदिनका लागि । उहाँले पहिले आफूले गर्नु भएको पत्रकारिताजस्तो सोच्नुभयो भन्ने लाग्यो मलाई । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो कि म्यानेजमेन्टले न्युज लेख्दैन,” सम्भवले भिडियोमा भनेका छन्, “व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्नु भएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लोस्तरमा ओर्लनुभयो । आफ्नो शक्ति दुरूपयोग गर्दै झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुबा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।”

उनले दलका नेताको भ्रष्टाचार हिजाको दिनहरुमा पनि नलुकाएको र आज पनि कान्तिपुरले लुकाउन नसक्ने बताएका छन् । आफ्नो बुबा नेपाली नागरिक भएकाले जिल्ला प्रशासनबाट नागरिकता लिएको उनले बताए ।

“भ्रम के फैलाइयो भने उहाँको दाइहरूको नागरिकताको क्याटागोरी फरक छ । उहाँको फरक छ । गृह मन्त्रालयको नियम त गृहमन्त्रीले बुझ्नैपर्ने हो । दाइहरू जन्मिँदा नेपाली नागरिकता प्राप्त गर्नुभएको थिएन । तर, नौजनामध्येको कान्छा छोरा कैलाश सिरोहिया जन्मिँदा प्राप्त गरिसक्नुभएको थियो । यति सरल कुरालाई के–के न जस्तो हल्लाबाजी गरियो,” उनले भनेका छन्
अध्यक्ष सिरोहियालाई अघिल्लो साता दुई वटा नागरिकताको लिएको भन्दै कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १२ : २७ बजे