२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

ओलीलाई बधाई दिँदै चीनले भन्यो- ‘रणनीति साझेदारीमा नयाँ प्रगति गर्न इच्छुक’



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङले बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।
चीनका प्रधानमन्त्री लीले बुधवार पठाउनुभएको सन्देशमा नेपालको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा प्रधानमन्त्री ओलीलाई आफ्नो व्यक्तिगत र चीन सरकारको तर्फबाट हार्दिक बधाई ज्ञापन गरे ।

चीनका प्रधानमन्त्री लिले सन्देशमा दुई देशका शीर्ष नेताहरूबिच भएका सहमति कार्यान्वयन गर्न र चीन–नेपाल उच्चगुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य र अन्य क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा विकास र समृद्धिका लागि सधैँ मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न चाहेको कुरा उल्लेख गरेका छन् ।

चीन–नेपाल हिमालय र नदीले जोडिएका दुई मैत्रीपूर्ण छिमेकी भएको स्मरण गर्दै सन्देशमा कूटनीतिक सम्बन्ध कायम भएको ६९ वर्षदेखि दुवै देशले सधैँ शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पालन गर्दै आएका र यो समानता र विन–विन सहकार्यको राम्रो उदाहरण भएको उल्लेख गरिएको छ ।

यसैबिच, प्रधानमन्त्री ओलीसँग नेपालस्थित चीनका राजदूत छङ सोङले मङ्गलबार शिष्टाचार भेट गर्नुभई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । भेटमा दुई देशबिचको मित्रतालाई थप प्रगाढ बनाउन र व्यावहारिक सहकार्यलाई गति दिने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ११ : २० बजे