काठमाडौँ । सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न परियोजनाका लागि बेलायत सरकारबाट प्राप्त करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी बैठकले एसियाली विकास बैङ्कबाट प्रस्तावित २० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा १० मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले वताए ।
यसैगरी बैठकले राजश्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश श्यामजी प्रधानलाई र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायधीश जनक पाण्डे लाई तोक्ने निर्णय पनि गरेको छ । त्यस्तै प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरी समूह तर्फको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव र कानून मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।
यस्तै रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानून आयोगका सहसचिव पाराश्वर ढुङ्गानालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी क्रमशः सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानून आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।बैठकले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधा सम्बन्धी निर्देशिका २०८० खारेज गरेको छ । त्यसैगरी नगर विकास कोषको रिक्त रहेको कार्यकारी निर्देशकको पदपूर्ति नभएसम्म बढीमा तीन महिना सम्म काम गर्नेगरी कोषका कोषका वरिष्ठ कर्मचारी उपप्रवन्धक राजेशकुमार भोछिभोयालाई तोकेको छ ।
त्यस्तै बैठकले नगर विकास कोष सञ्चालक समितिको सदस्यमा कोशी प्रदेशबाट रंगेली नगरपालिका प्रमुख दिलीपकुमार अग्रवाल, मधेश प्रदेशबाट बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, बागमती प्रदेशबाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, गण्डकी प्रदेशबाट पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङ, लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, कर्णाली प्रदेशबाट पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारी र सुदूरपश्चिम प्रदेशबाट लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीलाई मनोनीत गर्ने लगायतका निर्णयहरू गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले जानकारी दिए ।