१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

एक करोड ५० लाखको लगानीमा कुखुरापालन गर्दै उद्यमी शर्मा



गलकोट । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार कुखुरा पाल्न मिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरेका छन् ।

एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ । फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको पाँच वर्ष भयो । सामूहिक रूपमा थालिएको फार्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका छन् ।

“कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ । ६ महिनासम्म हुर्काएका कुखुराले फूल पार्न थालेपछि आम्दानी हुन्छ, त्यो समयसम्म लगानीमात्र गर्ने हो, बजार अस्थिर छ, अण्डाको मूल्यमा उतारचढाव हुन्छ,” उनले भने, “तर हिम्मत हारिएन अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु ।”

उनको फार्ममा प्रत्यक्ष रूपमा चारजनाले रोजगारी पाएका छन् । अहिले दैनिक तीन हजार अण्डा बागलुङमा खपत भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १२ : ११ बजे