१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मकः अध्यक्ष ढकाल



काठमाडौँ । अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “महासङ्घले सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेको थियो, महासङ्घको प्रस्तावलाई सरकारले प्राथमिकता दिएकामा आभार व्यक्त गर्दछु ।”

अर्थतन्त्र सम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाई दिगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले महासङ्घले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो ।

यसलाई अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित मन्त्रालयलाई महासङ्घ धन्यवाद ज्ञापन गरेको छ । महासङ्घले मितव्ययी रूपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ६ : १६ बजे