काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ।नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्ष पदका निम्ति राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उमेदवारी दर्ता गराएका छन् । महिला उपाध्यक्षतर्फ जयन्ती राई र रामकुमारी झाँक्रीले उमेदवारी दिएका छन् ।
मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झाको उमेदवारी परेको छ । खुला उपाध्यक्षतर्फ चारजनाका निम्ति ११ जनाले उमेदवारी दिएका छन् । खुला उपाध्यक्षका उमेदवारमा यसअघिका उपमहासचिवहरू गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, विजय पौडेललगायत छन् ।
उपमहासचिव चार पदका निम्ति २० जनाले उमेदवारी दर्ता गराएका छन् । जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, हरि पराजुलीलगायत उक्त पदका उमेदवार छन् ।
सचिव दलिततर्फ तीन, आदिवासी जनजातिमा तीनजनाले उमेदवारी दिएका छन् । सचिव खुला पाँच सदस्यका निम्ति २७ जनाले उमेदवारी दर्ता गराएका छन् ।
एकीकृत समाजवादीमा वरिष्ठसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो । अध्यक्ष, महासचिव र सम्मानित नेता भने पार्टी महाधिवेशनबाट चुनिएका थिए ।एकीकृत समाजवादीमा २१ जना पदाधिकारी रहने व्यवस्था छ।