८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कांग्रेस महासमिति बैठकमा पेस भएका सबै प्रतिवेदन संशोधनसहित केन्द्रीय समितिबाट पारित



काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकमा पेस भएका सबै प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ । आइतबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको प्रतिवेदन र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा परिमार्जन गरी पारित गरेको हो ।

महामन्त्री थापाले पेस गरेको प्रतिवेदनमा चुनावअघि गठबन्धन नगर्ने विषय उल्लेख छ । कांग्रेसले एक्लै चुनाव लड्ने र कांग्रेसले रुख चुनाव चिह्नमै मतदान गर्नपाउने भनी उनको प्रस्ताव पारित गरिएको छ ।

थापाको पारित प्रस्तावमा भनिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने चुनावहरूमा आफ्नै ताकतमा एक्लै लड्नेछौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।’

महामन्त्री थापाको गठबन्धनबारे प्रस्ताव पारित भए पनि महाधिवेशनको कार्यतालिकाका विषयमा भने अमूर्त निर्णय भएको छ ।

प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रस्तावको व्यक्ति बहिर्गमन व्यवस्थाबारे छलफल गर्दै जाने कुरा भएको छ। उनले भने, ‘एक्जिट पोलिसीबारे अहिले नै निर्णय गरेर जानुपर्ने अवस्था केन्द्रीय समितिले देखेन । यसबारे विधान र संविधान संशोधनका बेला बहस हुनेछ ।’

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ११ : २० बजे