काठमाडौं । यो साता सेयर बजारमा उतारचढाव भइरहेको छ । मंगलबार केही बढेको नेप्से बुधबार फेरी घटेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.४१ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)०का अनुसार, आज नेप्से परिसूचक ०.७६ प्रतिशत घटेर २,६४५.३९ विन्दुमा बन्द भएको छ ।
नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ । आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार चार अर्ब १७ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक २।३२ प्रतिशतले वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ ।
आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।