१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

उमेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति उमेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, सांगठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

निर्वाचन आयोगले मंसिर २ गते मनोनयनपत्र दर्ता गर्ने मिति तोकेको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका निम्ति उक्त दिन निर्वाचन हुनेछ ।

एकीकृत समाजवादीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : ४५ बजे