काठमाडौँ । विस्तृत मर्मतसम्भार (सि–चेक) का लागि इटाली पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नफर्किंदै अर्को न्यारोबडी जहाज ‘ग्राउन्डेड’ हुने भएको छ । एक महिनाभित्र जहाजको सम्पूर्ण मर्मतको काम सक्ने गरी भदौ १२ गते एयरबस ए ३३०–२०० सिरिजको नाइन एन एएल जेड जहाज इटाली पुर्याइएको थियो ।
निगमका प्रवक्ता रमेश पौडेलले जहाजको पार्टपुर्जा आपूर्ति गर्ने कम्पनीले जर्मनी, अमेरिकालगायतका मुलुकबाट स्पेयर पार्ट्स इटाली पठाउनुपर्ने भएकाले खरिद, भन्सारलगायतका कारण जहाजको परीक्षणमा समय लाग्ने गरेको बताए ।
उनले भने, “प्राविधिक जाँचका लागि इटालीको नेपल्समा रहेको जहाजको विस्तृत परीक्षणको काम जारी छ । सि–चेक प्राविधिक प्रक्रिया भएकाले काम सम्पन्न हुनेबित्तिकै जहाजको ९सर्टिफिकेट अफ एयर वर्दिनेस० को परीक्षण भएपछि जहाज नेपाल फर्किन्छ ।”
जहाजको विस्तृत मर्मतसम्भारको काम करिब अन्तिम चरणमा रहेकाले जहाज नोभेम्बरभित्रै नेपाल फर्काउने गरी काम भइरहेको उनले बताए ।
यसअघि वाइडबडी जहाजको मर्मतका क्रममा एजेन्ट ९एमआरओ० कम्पनी एटिआइटेकले सम्झौता अनुसार जहाज फिर्ता नगरेकाले अहिले समयमै जहाज फर्काउन निगमले ताकिता गरिरहेको उनको भनाइ छ ।
अबको १५ दिनभित्र उक्त जहाज नेपाल भित्रिए पनि अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेका दुई न्यारोबडी ए ३२० को जहाजमध्ये एक जहाज भने उडान समयका कारण अबको १० दिनभित्र ग्राउन्डेड हुन लागेको निगम स्रोतले जनाएको छ । वाइडबडी जहाज फर्केलगत्तै न्यारोबडी जहाजको सि–चेकका लागि कम्पनी छनोट गर्न टेन्डर प्रक्रिया जारी रहेको प्रवक्ता पौडेलले बताए ।
एटिआइटेकले यसअघि असार ८ गते इटली पुगेको जहाज पनि २७ भदौमा ९८० दिनपछि० मात्रै फर्काएको थियो ।अन्तर्राष्ट्रिय गन्तव्यमा उडाएर लाभ दिन सक्ने वाइडबडी जहाज लामो समय विदेशमा थन्किँदा निगमले ठुलो घाटा बेहोर्दै आएको छ । सम्झौता अनुसार जहाज नेपाल नफर्किंदा निगमले दैनिक डेढ करोडभन्दा बढी रुपियाँ आम्दानी गुमाउँदै आएको छ ।