काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदै छ । बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उमेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उमेदवारी दिएका छन् ।
महिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उमेदवारी दिएका छन् ।
केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।