७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

नियमविपरीत १९ तलाको नक्सा पास गर्न अनुमति दिएपछि महानगरका प्रशासकीय अधिकृत गुरागाई निलम्बनमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेको छ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा नियमविपरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई जिम्मेवारीबाट हटाइएको महानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नियमविपरीत १९ तलाको नक्सा पास गर्न अनुमति प्रदान गरेका थिए ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी पनि बुझिएको छ ।

अन्डरग्राउन्ड दुई तलासहित १२ तलाको नक्सा पास भइसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नियमविपरीत १९ तलाको नक्सा पास गर्न अनुमति दिएको महानगरले जनाएको छ ।
उनले नक्सा पास गर्ने महानगरको आधिकारिक प्रणाली ईबीपीएस छलेर कागजी नक्सा पास गर्ने प्रक्रिया अगाडि बढाएको महानगरको आरोप छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : २१ बजे