२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

संघीय सदनका १४ विषयगत समितिमा १९ वटा विधेयकहरु विचाराधीन



काठमाडौँ । यतिबेला संघीय संसद् अन्तर्गतका १४ वटा विषयगत समितिमा १९ वटा विधेयकहरु विचाराधीन छन् । ती मध्ये प्रतिनिधिसभा अन्तरगतका समितिमा १५ र राष्ट्रियसभाको विधायन समितिमा चारवटा रहेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पाँच, राज्यव्यवस्था तथा सुशासन समितिमा चार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई, पूर्वाधार विकास समितिमा दुई, कानुन, न्याय मानवअधिकार समितिमा एक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एक वटा विधेयक विचाराधीन छन् ।

सबैभन्दा बढी अर्थ समितिमा पाँच वटा विधेयकहरु विचाराधीन छन् । भन्सार विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक, सुरक्षित कारोबार विधेयक, धितोपत्र सम्बन्धी विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक विचाराधीन छन् ।
राज्यव्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक र सङ्घीय निजामती सेवा विधेयक विचाराधीन छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक छलफलका क्रममा छन् ।पूर्वाधार विकास समितिमा विद्युत् विधेयक र जलस्रोत विधेयक, त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक विचाराधीन छन् ।

राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिमा चारवटा विधेयकहरु विचाराधीन छन् । समितिमा मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, तिलगंगा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल कानुन व्यवसायी परिषद ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन् । त्यसमध्य दुइओटा विधेयक समितिले पास गरेको छ भने दुइ ओटा विधेयकमाथिको छलफल अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ५३ बजे