काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपालको कानुनमा समावेश हुने बताएका छन्।
बुधबार काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश घोषणा गरे।
उनले सम्पूर्ण अधिकृतदेखि जवान समेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको उल्लेख गरे। उनले आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानुनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरामा जोड दिइरहेको बताए। सशस्त्र प्रहरी बल नेपालको कानुनलाई केही दिनमै विधेयकका रूपमा संसदमा दर्ता गर्ने बताए।
गृहमन्त्री लेखकले भने, ‘म गृहमन्त्रीको जिम्मेवारीमा आइसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानुनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरालाई जोड दिँदै आएको छु। हामी केही दिनमा सम्बन्धित विधेयकलाई सङ्घीय संसदमा दर्ता गर्नेछौँ। सम्पूर्ण अधिकृतदेखि जवान समेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको छ। लामो समयदेखि सशस्त्र प्रहरी जवानले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिनेछ। यो कुरा आजको विशेष दिनमा सशस्त्र प्रहरी बल नेपालका सक्कल दर्जाको अगाडि राख्न पाउँदा खुसीको अनुभव गरिरहेको छु।’
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए ।





