११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

पोखरा सबैभन्दा बढी प्रदूषित, एक्यूआई १७९ पुग्यो !



काठमाडौं । पछिल्लो समय बायुप्रदुषण बढ्न थालेको छ । नेपालको वायुको गुणस्तर मापन गर्दा कास्कीको पोखरा सहर सर्वाधिक प्रदूषित बनेको छ । वातावरण विभागका अनुसार, बुधबार बिहान ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई) १७९ पुगेको छ ।

त्यस्तै दोस्रो प्रदूषित सहरमा चितवनको भरतपुर मापन भएको छ । सोही समयमा भरतपुरको एक्यूआई १७० पुगेको छ । यस्तै, ललितपुरको भैँसोपटी, खुमलटार,भक्तपुर र काठमाडौंको रत्नपार्क तथा शंखपार्कको एक्यूआई पनि १५२ देखि १६९ तथा सम्म रहेको छ ।

स्वास्थ्यका दृष्टिकोणले यी सात सहर अस्वस्थकरको सूचीमा छन् । पोखरामा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १३६।९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

वायुको गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : ३८ बजे