३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

राजनीतिक दलहरु इमान्दार नहुँदा निर्वाचन प्रणाली महँगो भयो: प्रमुख निर्वाचन आयुक्त



काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताएका छन् ।

नवौँ निर्वाचन दिवस, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरुले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताए ।

निर्वाचनको बेला प्रयोग हुने राज्यसंयन्त्रको इमानदारिता माथि पनि उनले प्रश्न उठाए । निर्वाचनको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ । निर्वाचनमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

‘निर्वाचनको प्रभावकारिताः निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता’ भन्ने मुख्य नाराका साथ मनाइएको नवौँ निर्वाचन दिवसका अवसरमा ‘निर्वाचन स्मारिका २०८१’ र ‘नेपालको निर्वाचन इतिहास–३’ पुस्तक विमोचन गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ४ : ५५ बजे